सर्लाहीको बसबरिया गाउँपालिका स्थित राजारानी मन्दिरको इतिहास र वर्तमान
नेपाल धर्म संस्कृति भेषभुषा भाषा भौगोलिक विविधता धरातलीय प्राकृतिक स्वरुप प्राकृतिक स्रोत साधनले भरिपुर्ण तथा सम्पन्न मुलुक भएको कुरा सर्वविदितै छ । धर्म संस्कृति भौगोलिक र प्राकृतिक विविधता संगै आर्थिक सामाजिक साँस्कृतिक जातजाती र भाषिक विविधता पनि नेपालको विशिष्ट पहिचान हो ।
नेपालमा धार्मिक स्थलहरुको स्थापना र संख्या पनि उल्लेख्य छन् । सर्लाहीको बसबरिया गाउँपालिका-१, मानपुर बिर्तामा अवस्थित बसबरियाकै सु-प्रसिद्ध श्री राजारानी मन्दिर पनि एक रहेको छ । यो मन्दिर ऐतिहाँसिक तथा पुरातात्विक हिसाबले निकै महत्वपूर्ण स्थल हो ।
स्थानीय गाउँपालिका अध्यक्ष रामसिंहासन रायका अनुसार आजभन्दा लगभग दुइ तीन सय वर्ष पहिले मन्दिर स्थलभन्दा पुर्वपट्टी गाउँका केही मानिसहरु बसोबास गर्थे । ऊनीहरुलाई विभिन्न किसिमका रोग लाग्नुका साथै जनधनको क्षति हुनेगर्थ्यो । एकदिन साधुको भेषमा एकजना आएर ऊनीहरुलाई भने `यो ठाउँमा पहिलेको युगमा एउटा ठुलो बस्ती थियो र त्यो बस्तीमा राजा सेवइ सिंहको राज थियो । युग परिवर्तन भएसंगै बस्तीसहित राजारानी पनि बिलुप्त भए । आज साझ तिमीहरुको गाइबस्तु जहाँ गएर बस्छ त्यही ठाउँमा राजारानीको घर थियो भनेर बुझ्नु र त्यो ठाउँभन्दा पश्चिम्पट्टी मात्र बसोबास गर्नु।´ सोहीदिन साझ ऊनीहरु गाइबस्तु अहिले राजारानीको मन्दिर भएको ठाउँमा बसे । भोलिपल्टबाट सबैले आआफ्नो घर तोडेर सो ठाउँभन्दा पश्चिम्पट्टी बसोबास गर्नथाले र सो ठाउँमा एउटा सानो मन्दिरको निर्माण गरि मन्दिरभित्र राजारानीको मुर्ति स्वरुप दुइवटा गोलो आकारको ढुंगा राखिदिए र पुजापाठ गर्नथालेपछि सिंगो बस्तीसहित स्थानीयले पालेका गाइबस्तु पनि निरोग र सुरक्षीत साथ रह्न थाले । पछि सो मन्दिर परिसरमा शंकर भगवान, पार्वती, हनुमान र माता भगवतीको पनि स्थापना गरिएको छ । उनका अनुसार यस वर्ष प्रदेश सरकारद्वारा विनियोजित २० लाख रुपैयाँले राजारानीको मन्दिर निर्माण गर्ने तयारी भइरहेको छ ।
स्थानीय बुढापाखाका अनुसार मन्दिरको स्थापना पछि मन्दिर स्थलमा आपरुपी तामाका भाडाकुडा देखा परे र पहिलेका जमानामा घोडामा खाद्यान्न सामग्री (अनाज) आयात निर्यात गर्ने ब्यापारी/किसानहरुले त्यही भाडामा खाना पकाएर खान्थे र पुनः आफ्नो गन्तव्य तिर जाने गर्थे । एकदिन एकजना ब्यापारीले खाना पकाएर खाए र त्यो भाडा पनि आफू संगै लिएर जाँदैगर्दा १ सय मिटरको दुरीमा पुग्ने बितिकै केहिपनि नदेखिने अन्धो जस्तो भए । ती ब्यापारीले पुनः त्यो भाडाकुडा सोही स्थानमा राखिदिएपछि राम्रोसँग देख्न थाले र त्यहाँबाट गए । पौराणिक किम्वदन्ती अनुसार एकदिन गाउँका एकजना (भगता) झाक्रीले राती करिब १ बजे गाउलेलाई उठाएर भन्न थाले `गाउँमाथी हम्ला गर्न खोजिरहेका (देवी) दुश्मनसंग गाउँको सिमानामा राजा लड्दै छन् । र एकैछिन पछि उनले फेरि भन्न थाले राजाको ठाउको फुट्यो´ । भोलिपल्ट गाउलेहरु मन्दिरमा गएर हेर्दा राजारानीको मुर्ति स्वरुप दुइवटा गोलो ढुंगा राखिएकोमा राजाको मुर्तिको आधी भाग फुटेको र थोरै रगत आएको देखे । त्यसैले मन्दिर भित्र राजारानीको मुर्ती स्वरुप दुइवटा ढुंगा मध्ये रानीको सिंगो गोलो र राजाको आधी भाग मात्र छ ।

अहिले पनि मन्दिर भन्दा पुर्वपट्टी घर बनाएर कसैले बसोबास गर्दैनन् । मन्दिरको पुर्वपट्टी घर बनाएर बसोबास गर्दा परिवारमा संकट आउने, जनधनको खतरा हुने गरेको बताइन्छ । साथै सो स्थानको वरपर खेत जोत्ने/ उत्खनन गर्ने क्रममा माटोको घैलोलगायत अन्य घरायसी समानहरु फेला पर्ने गरिछ । द्वापर युगको अन्त्यसँगै प्राचीन कालमा सो ठाउँमा ठुलो बस्ती थियो र त्यहाँका राजा `राजा सेबइ सिंह´ रहेको बताइन्छ ।
भौगोलिक क्षेत्र :
यस श्री राजारानी मन्दिरको क्षेत्रफलले ओगटेको जग्गाको क्षेत्र मन्दिरको चार किल्लाको क्षेत्र पूर्व किरण कुमारी रायको आवादी पश्चिम गौरीशंकर रायको जग्गा, उत्तर बिलाश रायको आवादी र दक्षिण सडक यस चार किल्ला भित्रको १२ कठ्ठा जग्गा बसबरिया गाउँपालिका वडा नं १ मानपुर बिर्तामा रहेको छ । मन्दिर क्षेत्रभित्रका केही जग्गा पुर्वपट्टीबाट संविधानसभा सदस्य किरण कुमारी रायको रहेपनि उनले मन्दिरलाई नै छोडिदिएकी छिन् । यो जग्गा कुनै गुठी नभइ पहिल्यैदेखि (देवी स्थल) मन्दिरको नाममा दर्ता रहेको छ ।
सांस्कृतिक क्षेत्र र मान्यता :
यस मन्दिरमा दैनिक रुपमा साँझ विहान नित्य रुपमा विधिवत रुपमा पूजापाठ गर्ने चलन सनातान रुपमा परंपरादेखि चल्दै आएको छ । दैनिक रुपमा पूजापाठ गर्ने मन्दिरको तर्फवाट मन्दिरका पूजारीवाट गर्ने गरीन्छ भने यस मन्दिरमा पूजा पाठ गर्न देवीको दर्शन गर्न आउनुहुने श्रद्धालु भक्तजनहरु पनि दैनिक रुपमा मन्दिरमा आइ पूजापाठ गरी वोका वलि लगायत नरिवल र अन्य फलफुल पनि देवीलाई चढाउने चलन छ । यस मन्दिरमा चामल अक्षेता तिल जौं रंग केशरी अविर धूप दीप वावियो पाती र पुष्प लगायत विभिन्न पूजा सामाग्रीहरुले पूजा गर्ने चलन छ । यस मन्दिरमा आई पूजा पाठ गरी देवीलाई भाखा कवोल गरी वरदान मागेमा पुत्र वरदान धन वरदान अन्न वरदान विद्या वरदान लगायत अन्य मनले चिताएका मनकामना ईच्छाहरु मनले आँटे तोकेका कुराहरु पूर्ण हुन्छ भन्ने श्रद्धालु भक्तजनहरुमा विश्वास रहेको छ । यस मन्दिरमा आई स्वच्छ मनले पूजापाठ गरेमा मोक्ष प्राप्त हुन्छ र जुठोपिठो फोहरफाहर छातछुत चोरी डकैती ठगढाँट गरेमा त्यसलाई नराम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । यस मन्दिरमा अषाढमा गरिने अषाढी पुजालाई मुख्य मानिन्छ । अषाढ पूर्णिमाको भित्र गाउलेहरुले आफ्नै गाउँबाट चन्दा उठाएर दुधको खिर, लड्डु बतासा, बुनिया पकाएर फलफुल नारिवलसहितका पुजाको सामग्रीले पुजा गरेपछि मात्र खेतमा धान लगाउने गर्छन् । भगवतीको पुजा गरेर खेतमा धान लगाउदा उब्जनी राम्रो हुने जनविश्वास छ । यससँगै श्रीपंचमीमा बोलबम कावरीयाहरु आउने गर्छन् र धार्मिक कार्यक्रमसंगै यज्ञको आयोजना गरिन्छ । प्रत्येक आइतबार र मंगलबार यस मन्दिर वरपरका श्रद्धालु भक्तजनहरु लगायत अन्य सर्वसाधारण मानिसहरुले नुहाईधुवाई सफासुग्घर गरी पवित्र भई पूजापाठ गर्न आउने गर्छन् । यहा देवीको ठूलो शक्तिमा अगाध जनविश्वास रहेको छ । आफ्नो धर्मको रक्षा गर्दै अरु धर्मको सम्मान गर्ने जुन धर्ममान्ने मानिस भएतापनि मन्दिरमा प्रवेशमा मनाही गरीदैन । विभिन्न धर्म जात जाति र लिंङ्गको रुपमा पाल्नुहुने विभिन्न श्रद्धालु भक्तजनहरुमा विभेद तथा भेदभाव गर्ने चलन छैन । सवै पाल्नुहुने भक्तजन हरु लाई समान रुपले स्वागत र सम्मान गरीन्छ ।
वर्तमान अवस्थाका समस्याहरु :
यस मन्दिरमा वर्तमान अवस्थामा विभिन्न प्रकारका समस्याहरु छन । वाहिरवाट पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई वास वस्न समस्या लगायत तपशिल अनुसारका समस्याहरु खड्कीएका छन । ती समस्याहरु निम्न प्रकार रहेका छन ।
• धर्मशाला
• शौचालय
• सञ्चारका साधनको असुविधा
• फुलवारी
• सडक निर्माण
• अग्नी कुण्ड तथा विवाह मण्डप निर्माण
• प्रतिक्षालय निर्माण, वातावरणिय सरसफाई आदी समस्याहरु खड्कीरहेका छन । यी समस्याहरुलाई वर्तमान समयमानै समस्या समाधान गर्नु पर्ने नित्तान्त आवश्यकता खड्कीएको देखिन्छ ।
समाधानका उपायहरू :
यस मन्दिरमा भएरहेका समस्याहरुको समाधान गर्नको लागि यस क्षेत्रका सवै सरोकारवाला पक्षहरुले आ-आफ्नो पक्षवाट आफ्नो दायित्व कर्तव्य र जिम्मेवारीसम्झि तत्कालै व्यवस्थापन गरी निर्माण गर्नमा जुट्नु पर्दछ । यसका सरोकारवाला पक्षहरु जस्तैः मन्दिर नजिकका समुदाय, गाउँपालिका र संबंधित वडा, सुरक्षा निकायहरु, विभिन्न सरोकारवाला संघ संस्थाहरु र श्रद्धालु भक्तजनहरु लगायत सवै पक्षहरु मिलिजुली यहाँ आईपरेका समस्याहरुको समाधान गर्न सकिन्छ । साथै आ-आफ्नो तर्फवाट को को वाट के कती सहयोग गर्न सकिन्छ यसको वारेमा समस्या पहिचान गरी जुट्न जुटाउन सवै सरोकारवाला पक्षहरुलाई अभिप्रेरित गर्न नित्तान्त जरुरी देखिन्छ ।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस