सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन

आर्थिक वर्ष २०८३/०८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सर्लाहीका १४ वटा स्थानीय तहको खाता संचालनमा आउन सकेको छैन। असोज ५ गतेसम्म जिल्लाका २० स्थानीय तहमध्ये ६ वटाको मात्र खाता संचालनमा आएको छ।

 

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका अनुसार स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा विभिन्न स्रोतबाट प्राप्त रकमको खर्च तथा बाँकी रकमको हिसाब समयमै मिलान नगर्दा चालु आर्थिक वर्षको खाता संचालनमा समस्या देखिएको हो।

 

स्थानीय तहले स्रोतगत रूपमा खर्चको विवरण व्यवस्थापन गर्नुपर्ने, खर्च हुन नसकेको रकम समयमै फिर्ता गर्नुपर्ने तथा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणसमेत मिलान गर्नुपर्ने हुन्छ। यी प्रक्रिया पूरा नभए नयाँ आर्थिक वर्षमा रकम निकासा गर्न समस्या हुने कोलेनिका कार्यालय सर्लाहीले जनाएको छ।

 

बसबरिया, ब्रह्मपुरी र धनकौल गाउँपालिका तथा बलरा, लालबन्दी र मलंगवा नगरपालिकाले आवश्यक हिसाब मिलान गर्न बाँकी रहे पनि आन्तरिक बजेट संचालनमा कठिनाइ भएको भन्दै खाता संचालनका लागि अनुरोध गरेका थिए। आवश्यक हिसाब मिलान गरेपछि संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम निकासा गर्ने गरी ती स्थानीय तहको खाता संचालन गरिएको कोलेनिका सर्लाहीका प्रमुख पदमप्रसाद पौडेलले बताए।

 

सर्लाहीमा २० वटा स्थानीय तह छन्। तीमध्ये ११ नगरपालिका र ९ गाउँपालिका रहेका छन्। जिल्लाका स्थानीय तहमा मलंगवा, लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, हरिपुर, बलरा, गोडैता, कविलासी, हरिपूर्वा र बागमती नगरपालिका छन्। त्यस्तै, चन्द्रनगर, बसबरिया, ब्रह्मपुरी, धनकौल, विष्णु, कौडेना, पर्सा, रामनगर र चक्रघट्टा गाउँपालिका रहेका छन्।

प्रतिकृया दिनुहोस
↑