सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने

सर्लाहीको बरहथवा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई बसको सिट क्षमताभन्दा बढी विद्यार्थी नबोक्न निर्देशन दिएको छ। मंगलबार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै विद्यालय बस सञ्चालन गर्दा तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेको हो।

 

नगरपालिकाले बसको सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर आवतजावत गराउने गरेको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ। नगरपालिकाले विद्यालय बस सञ्चालनका लागि यसअघि जारी गरिएको मिति २०८२/०३/१० गतेको पत्रमा उल्लेखित मापदण्ड बमोजिम बस सञ्चालन गर्न निर्देशन दिएको छ।

 

साथै, बसको सिट क्षमताभन्दा बढी विद्यार्थी नराख्न स्पष्ट रूपमा भनिएको छ। त्यस्तै, नगरपालिकाले संस्थागत विद्यालयमा कक्षा सञ्चालन गर्दा समेत तोकिएको विद्यार्थी संख्या पालना गर्न निर्देशन दिएको छ।

 

शिक्षा नियमावली, २०५९ को नियम ७७(२) अनुसार संस्थागत विद्यालयमा प्रतिकक्षा अधिकतम ४४ जना विद्यार्थी राखेर पठनपाठन गराउनुपर्ने व्यवस्था रहेको भन्दै सोभन्दा बढी विद्यार्थी राखिएको भए व्यवस्थापन गर्न भनिएको छ।

 

निर्देशनमा छात्रवृत्तिको विवरण सार्वजनिक नगरेका तथा छात्रवृत्तिमा छनोट भएका विद्यार्थीबाट वार्षिक शुल्क लिएको गुनासोसमेत आएको उल्लेख छ। नगरपालिकाले तोकिएको व्यवस्थाअनुसार छात्रवृत्ति उपलब्ध गराउन र सम्बन्धित विवरण व्यवस्थित गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।

 

नगरपालिकाले निर्देशन पालना नगरे विद्यालयको EMIS प्रणाली बन्द (लक) गर्ने, आधारभूत तह उत्तीर्ण कक्षा ८ को परीक्षाबाट वञ्चित गराउने तथा आवश्यक परे नगर शिक्षा समितिमा अनुमति रोक्का गर्न सिफारिस गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिकृया दिनुहोस
↑