कोठियारको अवैध क्रसरमा प्रशासनको एक्सन: विद्युत लाइन काट्दै पूर्ण रुपमा बन्द

 सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अवैध रूपमा सञ्चालनमा रहेको अभिनित वासिङ्ग उद्योग तथा ढुंगा,गिट्टी क्रसर उद्योग अन्ततः प्रशासनले बन्द गराएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार दिउँसो प्रहरी टोली खटाएर उक्त उद्योग बन्द गराइएको हो ।

 

यसअघि पनि प्रशासनले पटक–पटक अनुगमन गरी उद्योग बन्द गराएको भए पनि राजनीतिक संरक्षणका कारण पुनः सञ्चालन हुँदै आएको थियो। गत वर्षसमेत बन्द गराएपछि उद्योग सञ्चालकले रातिको समयमा सञ्चालन गर्ने र दिनमा बन्द राख्ने जस्ता गतिविधि अपनाएको स्थानीयले बताएका छन्। यसपटक भने पुनः सञ्चालन हुन नदिन उद्योगको विद्युत् लाइन नै काटिएको बताइएको छ ।

 

बस्ती नजिकै सञ्चालनमा रहेको उक्त उद्योगका कारण स्थानीयवासी लामो समयदेखि प्रभावित हुँदै आएका थिए। उद्योगबाट निस्कने धुलो र प्रदूषणका कारण नजिकैको विद्यालयसमेत प्रभावित भई झण्डै बन्दजस्तै अवस्थामा पुगेको स्थानीयको गुनासो छ।

 

हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि डा. अमरेश कुमार सिंहले सरकार गठन भएको १० दिनभित्रमा उक्त उद्योग बन्द गराउने लगायतका अभिव्यक्ति सार्वजनिक रुपमा दिँदै आएका थिए ।

प्रतिकृया दिनुहोस
↑