प्राधिकरणले अग्रिम सूचना बिना कार्यालयको मिटर खोलेर लगेको आरोप

विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रले अग्रिम सूचना बिना बरहथवा नगरपालिका अन्तर्गतको कृषि विकास शाखाको मिटर खोलेर लगेको कार्यालय प्रमुख अरुण सिंहले आरोप लगाएका छन् । आइतबार (आज) साझ सेवाग्राहीको काम गरिरहेकै बेला प्राधिकरणका सब इन्जिनियर ललित सिंहले दादागिरी शैलीमा मिटर खोलेर लगेको शाखा प्रमुख सिंहको आरोप छ ।

 

प्राधिकरणका कर्मचारी आएर मिटरको स्पीड कम भएका कारण मिटरमा खपत कम आउने गरेको भन्दै सेवाग्राहीको काम प्रभाव हुनेगरी मिटर खोल्न लागेपछि आफुले नखोल्न अनुरोध गरेपनि नमानेको शाखा प्रमुख सिंहले बताए । त्यस्तै, सेवा लिना कार्यालय पुगेका बरहथवा-२, हजरियाका सेवाग्राही चैनकिशोर दासले आफ्नो काम भइसकेपछी खोल्नु भनेर अनुरोध गर्दासमेत प्राधिकरणका कर्मचारीहरु नमानेको बताए ।

 

शाखा प्रमुख सिंहका अनुसार आफ्नो शाखा कार्यालयमा ४ वटा बत्ती, ४ वटा पंखा र २ सेट कम्प्युटर प्रिन्टर सेट मात्र रहेकोमा अहिले जाडो महिना भएकोले पंखाको प्रयोग नहुदा खपत कम हुनेगरेको छ । उनले भने, `एउटा ५ वाडको बत्ती र कम्प्युटर चलेबापत पछिल्लो महिनाको बिल १ सय ७२ रुपैयाँको आएको छ, अनि कसरी खपत कम भयो´। प्राधिकरणका कर्मचारीले पुर्वाग्रह राखी मिटर खोलेर लगेको उनको आरोप छ ।

 

यता, विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रका प्रमुख अन्जनी यादवले उक्त मिटरमा खपत कम आउने गरेकोले मिटर बदलिनका लागि खोलेर ल्याइएको दाबी गरे । अर्को मिटर आजै कृषि विकास शाखामा जडान गरिने उनले बताए ।

 

बरहथवा नगरपालिकाको कृषि विकास शाखा नगरपालिकाको प्रशासनिक भवनसंगै नरहेर हिरापुर जाने हुलाकी सडकको पश्चिमपट्टी प्रभु बैंकको अगाडी रहेको छ ।

प्रतिकृया दिनुहोस
↑