संचार माध्यममा न्यून दलित संचारकर्मी, दलितका विषयवस्तुले पाउँदैनन् प्राथमिकता

लक्ष्मण यादव :

सर्लाहीको सदरमुकाम मलंगवामा ४ वटा रेडियो (रेडियो मधेश, रेडियो वर्षा, रेडियो मलंगवा र रेडियो स्वर्णीम प्रशारणमा छन् । त्यसमा न्यून कर्मचारी रहेकामा दलित भने कोही पनि कार्यरत रहेका छैनन् । यो उदाहरण मात्रै हो । यहाँका सबै क्षेत्रमा संचालित एफएम रेडियोमा दलित संचारकर्मी न्यून छन् ।

 

सदरमुकाम बाहेक बरहथवामा तीनवटा (रेडियो बरहथवा, रेडियो तुफान र रेडियो स्मार्ट) रहेका छन् । त्यसमध्ये रेडियो बरहथवामा रेडियोकर्मीका रुपमा मिलन विश्वकर्मा कार्यरत छन् । उनी बरहथवा क्षेत्रमा संचालित रेडियोमा कार्यरत एकमात्रै दलित संचारकर्मी हुन् । जिल्लाको गोडैता बजारमा दुई वटा रेडियो (रेडियो धडकन र रेडियो बन्धन) प्रशारण हुन्छन् । यहाँ रेडियो धडकनमा संचारकर्मीका रुपमा राजेन्द्र विश्वकर्मा कार्यरत छन् । उनी जाजरकोटबाट यहाँ आएर कार्यरत रहेका हुन् । विश्वकर्माबाहेक अन्य दलित संचारकर्मी रेडियोमा आवद्ध छैनन् ।

 

लालबन्दीमा कार्यरत सामुदायिक रेडियो एकतामा पनि एक जना दलित संचारकर्मी कार्यरत छन् । यहाँ संचारकर्मी दीपक शाशंकर (वि.क.) संचारकर्मीका रुपमा कार्यरत रहेका हुन् । उनी यस रेडियोमा झण्डै ५ वर्षदेखि कार्यरत छन् । बागमतीमा रहेको रेडियो बागमतीमा अहिले दलित संचारकर्मी छैनन् । जिल्लाका एफएमहरुमा यसअघि कार्यरत धेरै दलित संचारकर्मीले रेडियो छाडिसकेका पाइएको छ ।

 

अब चर्चा पत्रिकातर्फको:

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कूल ७० वटा पत्रपत्रिका दर्ता रहेका छन् । ती मध्ये अधिकांश पत्रपत्रिका दर्ता भएपनि प्रकाशित हुँदैनन् । नियमित प्रशासनमा रहेका दैनिक पत्रिका अत्यन्त न्यून रहेका छन् । ती पत्रिकामा पनि दलित संचारकर्मी कार्यरत रहेको न्यून नै छ । संचारकर्मी क्षितिज विश्कर्माले लालबन्दी पोष्ट र सोम दियाली (वि.क.) ले भाइरल पोष्ट चलाउँछन् । अन्य पत्रिकामा दलित पत्रकार कार्यरत छैनन् ।

 

केही मात्रामा एफएम तथा पत्रकारितामा कार्यरत दलित संचारकर्मी पेशाबाट पलायन भएको अवस्था छ । यहाँबाट राष्ट्रिय स्तरका चर्चित संचार माध्यममा दलित पत्रकारको कार्यरत रहन पहुँच देखिदैन् । जिल्लामा भएका केही दलित संचारकर्मी पनि स्थानीय स्तरकै रेडियो तथा पत्रकारितामा कार्यरत छन् ।

 

दलित संचारकर्मी सन्जाल सर्लाहीका अध्यक्ष अकलेश बैठा जिल्लामा पत्रपत्रिका तथा एफएम रेडियोमा कार्यरत पत्रकारको संख्या न्यून रहनु दुःखद भएको बताउँछन् । उनी दलित संचारकर्मी नै नहुँदा दलितका कतिपय मुद्दा उठान नहुने गरेका बताउँछन् । दलित समुदायकै संचारकर्मी क्रियाशील र सक्रिय हुँदा दलितका मुद्दा अझ बाहिर ल्याउन मद्धत पुग्ने उनको तर्क छ । बैठाले जिल्लामा दुई दशकदेखि पत्रकारिता गर्दै आएका छन् । तर जिल्लामा अन्य दलित संचारकर्मी टिकेर यो पेशामा जम्नै नसकेका उनको बुझाई छ ।

 

दलित समुदायका संचारकर्मिले पहिलो कुरा अवसर नै नपाउने र अवसर पाएपनि सेवा सुविधा अत्यन्त न्यून हुँदा टिकिरहन समस्या रहेको उनको अनुभव छ । “पत्रकारिता क्षेत्रमा कमाई नै हुँदैन्, त्यसैले यो क्षेत्रमा आउन चाहने थोरै छन्, ”हाम्रो जिल्लामा त दलित पत्रकार अझ अगन्य नै छन्, आएका पनि राम्रो आम्दानी नदेखेपछि बाध्यताबस् गरिबीका कारण अन्य पेशा व्यवसायमा लाग्न बाध्य छन् । ”

 

संघर्ष गरेर पत्रकारितामा आएका दलित संचारकर्मीलाई पोत्साहन र सहयोगको खाँचो पनि रहेको बैठा बताउँछन् । “दलित समुदाय पछाडि परेको समुदाय हो, यो क्षेत्रबाट सबै पेशा व्यवसायमा पहुँच पुगेके हुँदैन, पत्रकारितामा पनि त्यस्तै छ,” बैठाले भने, “त्यसैले दलित समुदायका युवालाई पत्रकारितामा ल्याउन साथ, सहयोग र उसको परिवारलाई सहयोगको खाँचो देखिन्छ । नत्र भने त कमाई नै नहुने यो पेशामा विपन्न परिवारबाट आउने दलित युवा, युवतीलाई पत्रकारितामा जम्न र टिक्न नै गाह्रो छ ।” आफू दलित र विकट ग्रामीण भेगको दलित संचारकर्मी परेकाले धेरै कुराको अवसरबाट चुकेको उनको दुःखेसो छ ।

 

“पुरानो दलित पत्रकार भएपनि म विकट र अलि ग्रामीण भेगको परेकाले पनि पत्रकारका लागि आउने कार्यक्रम, प्रशिक्षणबाट पनि छुटिरहेको छु, हाम्रा जेजति क्रियाशील दलित संचारकर्मी पनि त्यस्ता अवसरबाट छुटेका छन्,” बैठाले भने, “त्यसका लागि पत्रकार महासंघ होस् वा स्थानीय तह जो कसैले दलितको उत्थान गर्नका लागि दलित संचारकर्मीलाई पनि साथ, सहयोग गरेर अगाडि बढ्नुपर्छ, अनि मात्रै हाम्रो समुदायबाट पत्रकारितामा सहभागिता र संचार माध्यममा दलितका कुराले पनि राम्रो स्थान पाउन सक्दछ ।” संख्या थोरै रहेकाले दलित पत्रकारहरु संगठन दाह्रो हुन पनि पाएको छैन् । जे जति संख्यामा भएपनि दलित समुदायसहित अन्य समुदायको आवाज बुलन्द पार्न क्रियाशिल नै रहेको उनीहरुको भनाई छ ।

 

यहाँका एफएम रेडियो, पत्रपत्रिका तथा स्थानीय स्तरका अनलाईनमा कार्यरत दलित संचारकर्मी कोही संवाददाता, कोही सम्पादक, कोही समाचारवाचकजस्ता पदमा कार्यरत छन् । सामुदायिक रेडियो एकतामा कार्यरत समाचारवाचक दीपक शाशंकर (विश्वकर्मा) स्थानीय संचारमाध्यममा अन्य समुदायको तुलनामा दलित संचारकर्मी कम नै रहेको बताउँछन् ।

 

उनी संचारमाध्यमले दिने पारिश्रमिक जीवन निर्वाह गर्न मुस्किल परेकाले धेरैलाई यो पेशामा टिक्न अप्ठेरो रहेको अनुभव सुनाउँछन् । “दलित पत्रकार साथीहरु कम छन्, किनभने यो पेशा न्यून आय भएको पेशा हो, कुनै आकर्षक सेवा सुविधा हुँदैन्,” उनले भनेका छन्, “थोरै पारिश्रमिक लिएर केही समय काम गर्न त सकिएला तर पछि आर्थिक अभाव चुलिँदै जान्छ, घर व्यवहार हेर्नुपर्छ, अनि यो पेशामा टिकीराख्न चूनौति देखिन्छ । उनले आफू दलित भएर दलित समुदायकै प्रतिनिधित्व मात्रै नगरेको र दलितका कुरा आफू कार्यरत संचार माध्यममा पनि आइरहेको बताउँछन् ।

 

विकले दलित अगुवा तथा दलित समुदायसँग जोडिएकाले धेरै दलित परिवारले समस्या परेका, पीडा भोग्नु परेका, शिक्षा, स्वास्थ्यका कुरा आफूलाई सुनाएपछि संचारमाध्यममा ल्याउने गरेको बताउँछन् । रेडियो बरहथवामा कार्यरत संचारकर्मी मिलन वि.क. आर्थिक समस्याले गर्दा संचारमाध्यममा टिकिराख्न चूनौति रहेको बताउँछन् । उनले यो क्षेत्रमा दलित संचारकर्मी न्यून कार्यरत रहेपनि दलितका कुरा बेलाबेलामा संचारमाध्यममा आउने गरेको सुनाए ।

 

गोरखापत्रमा कार्यरत संचारकर्मी जनार्जन खत्री सर्लाहीका संचार माध्यम तथा राष्ट्रिय स्तरका संचार माध्यममा पनि दलितका विषय उठान गर्दै आइरहेको बताउँछन् । खत्रीले दलित बालबालिका विद्यालय जान के कति कारणले समस्या रहेको, दलित बस्तीमा रहेका सडक, खानेपानीलगायत समस्या रहेको, दलित समुदायमा रहेको गरिबी, विभिन्न किसिमका हिंसा र जातिय विभेद, जनप्रतिनिधिले गरेको बेवास्ता, गरिबीले गर्दा दलित बालबालिका आमाबुवासँगै इँटा भट्टामा जानु परेको, दलित समुदायमा रहेको चेतनाको कमी लगायतका विषयमा आवाज उठाइरहेको उनी सुनाउँछन् ।

 

खत्रीले अन्य समुदाय सरह दलितका कुरा पनि संचार माध्यममा आइरहेको बताउँछन् । “सर्लाहीको हकमा दलित समुदायका कुरा यहाँका संचार माध्यममा आइरहेका हुन्छन्, संचार संस्थाहरुमा दलित समुदायको सहभागिता बढ्दै गएको देखिन्छ,” उनले भने, “दलित संचारकर्मी कम भएकै कारण दलितका विषयवस्तु, समस्या, प्रगति, कथाबेथा संचारमाध्यममा नआएका, उनीहरुको सहभागिता नै नभएको होईन्, हामीले सहभागिता बढाउने हिसाबले नै कलम चलाएकै छौँ, पीडित तथा गरिबको तर्फबाट आवाज उठाइरहेका छौँ । आगामी दिनमा पनि यो विषयमा कलम चलिरहेकै हुन्छ, यो हामी संचारकर्मीको जिम्मेवारी पनि हो ।”

 

दलित समुदायलाई केन्द्रिकृत गरेर विभिन्न संघसंस्था र पालिकाहरुले राखेका कार्यक्रमबारे संचार माध्यममा समाचार तथा अन्य सामग्री प्रकाशन तथा प्रशारण भएकै हुन्छन । सामरी उत्थान सेवाले यहाँका पालिकाहरुमा दलित सशक्तीकरणका लागि गरेका कार्यक्रमहरु यहाँका संचार माध्यमहरुबाट बाहिर आएकै छन् । त्यसमा दलित समुदाय तथा समुदायका अगुवाले बोलेका कुरा, राखेका गुनासा प्रकाशित भइरहेका देखिन्छ । अनि त्यसमा जनप्रतिनिधि तथा अन्य सरोकारवालाले गरेका प्रतिवद्धता पनि आएको पाइन्छ । दलित अगुवा राजाराम पासवान दलित समुदायका कुरा जिल्लाका संचारमाध्यममा केही मात्रामा आइरहेको बताउँछन् । तर अझै पनि गाउँ–गाउँमा जातिय विभेद, छुवाछुत, गरिबीसहित दतिल समुदायमा रहेका समस्या यहाँका संचार माध्यममा नआएका उनले बताए ।

 

उनी दलित संचारकर्मी न्यून रहेपनि अन्य संचारकर्मीले पनि दलितका कुरा बेलाबेलामा बाहिर ल्याइदिने गरेको सुनाउँछन् । “दलितका विषयमा राजनीतिक तथा अन्य सामाजिक कार्यक्रमका समाचार प्रकाशन तथा प्रशारण भएको पाइन्छ तर दलितमाथिका धेरै विभेदका कुरा, समस्याका कुरा संचार माध्यममा आउन पाएका छैनन्, ”पासवान भन्छन्, “संचारमाध्यममा दलितका कुरा समावेश हुन थालेपनि खोजमुलक र तल्लो स्तरबाट आउन सकिरहेको छैन् ।” लालबन्दीको एक निजी विद्यालयमा अध्यापन गराउने दलित शिक्षक विश्वास परियार संचार माध्यममा दलित समुदायको सहभागिता बढाउन जरुरी रहेको बताउँछन् ।

 

“दलितका कुरा संचार माध्यमबाट आएपछि हामीले पनि हाम्रो आवाज बोलिदिने ठाउँ छ भन्ने हुन्छ, त्यसैले सहभागिता बढाउन जरुरी छ,” उनले भने “अझ दलित संचारकर्मी यस क्षेत्रमा लागे पनि उसले यो समुदायको पीडा बुझेको हुन्छ, अझ राम्रोसँग व्यक्त गर्न सक्छ, त्यसैले यो क्षेत्रमा दलित संचारकर्मीको सहभागिता बढाउन पनि जुन निकाय वा संघसंस्थाले काम गर्नुपर्ने पनि यसतर्फ ध्यान दिन जरुरी देख्छु । ” परियारले दलितमाथि कहीँकतै ठूला किसिमका विभेद वा अन्याय भए मात्रै संचारमाध्यममा आउने गरेक तर गरिबी, अशिक्षाका कुरा संचार माध्यममा नआएका उनी बताउँछन् । दलित बालबालिका सानै उमेरमा पढाई छाड्न बाध्य, उनीहरुका अभिभावकले गर्नुपर्ने दुःख, समाजमा हेपिएका विषयवस्तु संचारमाध्यमको समाचार बन्न नसकेका उनको भनाई छ । दलितका समुदायका विषयवस्तु दलित तथा अन्य संचारकर्मीले अझ गहन रुपमा बाहिर ल्याई दिए वा उनीहरुलाई सचेत हुने किसिमले कलम चलाई दिए स्थानीय पालिका तथा संघसंस्थाको यसतर्फ ध्यानाकर्षण हुने र त्यसबाट दलित समुदायले फाइदा लिन सक्ने उनको भनाई छ ।

 

अन्य क्षेत्रका लागि घच्घच्याए जसैगरी दलितका सहभागिता, बजेट लगायतका विषयमा संचारमाध्यमले कलम चलाइ दिनुपर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस
↑