परिवर्तनको चाहना र विकल्पप्रतिको अन्योलमा सर्लाही–४ का मतदाता

सर्लाही क्षेत्र नम्बर ४ का मतदाता यतिबेला परिवर्तनको तीव्र चाहना र स्पष्ट विकल्पको अभावबीच अन्योलमा परेका छन्। लामो समयदेखि प्रतिनिधित्व गरिरहेका नेतामाथि विकास नगरेको आरोप लाग्दै आए पनि मतदाताले वैकल्पिक नेतृत्वप्रति पूर्ण विश्वास गर्न नसकेको अवस्था देखिएको छ।

 

यस क्षेत्रबाट पटक–पटक निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहमाथि सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय काम नगरेको आरोप स्थानीयस्तरमै व्यापक छ। तर आलोचना गर्दै आएका कतिपय मतदाताले नै “विकास देखिएन, तर भोट भने घण्टीमै दिन्छु” भन्ने धारणा राख्नुले यहाँको राजनीतिक मनोविज्ञान उजागर गरेको छ।

 

 यस क्षेत्रमा विकासभन्दा पनि व्यक्तिगत पहुँच, मुद्दा मिलाइदिने र झगडा टुंग्याइदिने उम्मेदवारलाई प्राथमिकता दिने प्रवृत्ति हाबी भएको धेरैको भनाइ छ। यही कारणले गर्दा नीति, योजना र दीर्घकालीन विकासको बहस कमजोर बनेको जानकारहरू बताउँछन्।

 

नेपाली कांग्रेसका सभापति गगन थापाको उम्मेदवारीले यसपटकको निर्वाचनलाई थप चासोको विषय बनाएको छ। ठूला दलका प्रभावशाली नेता मैदानमा उत्रिएसँगै चुनावी प्रतिस्पर्धा चर्किएको छ। तर मतदाताको प्रश्न भने उही छ—“नयाँ अनुहार आए पनि साँच्चिकै परिवर्तन हुन्छ कि हुँदैन?”

 

राजनीतिक विश्लेषकहरूका अनुसार सर्लाही–४ को निर्वाचन परिणाम दलको लोकप्रियता भन्दा पनि मतदाताको असन्तुष्टि, डर र विकल्पप्रतिको अविश्वासले निर्धारण गर्ने देखिन्छ। परिवर्तन चाहने मतदाता धेरै छन्, तर परिवर्तन कसबाट भन्ने प्रश्नमा एकमत छैन।

प्रतिकृया दिनुहोस
↑